नियम ११
अवैतनिक वाणिज्यदूतको कार्य सम्पादन मूल्याङ्कन
(१) राजदूतले प्रत्येक आर्थिक वर्षको पहिलो तीन महिनाभित्र अवैतनिक वाणिज्यदूतको कार्य सम्पादनको स्तर मूल्यांकन गरी नेपाल सरकारमा पठाउनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम कार्य सम्पादनको स्तर मूल्याङ्कन गर्दा देहायका कुरालाई आधार लिइनेछः–
(क) निजले एक वर्षमा सम्पादन गरेको कामको समग्र विवरण,
(ख) भिसा जारी गर्दा प्राप्त गरेको दस्तुरको रकम र नेपाल सरकारलाई सो बापत प्राप्त भएको राजश्वको परिमाण,
(ग) यस नियमावली बमोजिम निजले पठाउनु पर्ने प्रतिवेदन,
(घ) नेपालमा भ्रमण गर्ने पर्यटक प्रति निजले गरेको व्यवहार, र
(ङ) कन्सुलर क्षेत्रमा भ्रमण गर्ने नेपाली नागरिक प्रति निजले देखाएको व्यवहार ।
(३) उपनियम (१) बमोजिम कार्य सम्पादनको स्तर मूल्याङ्कन गर्दा उत्कृष्ट देखिएको अवैतनिक वाणिज्यदूतलाई नेपाल सरकारले उपयुक्त ठहराए बमोजिम सम्मान गर्न सक्नेछ र कार्य सम्पादनको स्तर सन्तोषजनक नदेखिएको अवैतनिक वाणिज्यदूतलाई नेपाल सरकारले पुनर्नियुक्ति नगर्न सक्नेछ ।